यस आयाम बचत तथा ऋण सहकारी संस्थाले काभ्रपलाञ्चोक जिल्ला कोशिदेखा–१३, ठाँटीको श्रीराम उच्च माध्यमिक विद्यालयमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पाँचखाल पोलिक्ल्निीक एण्ड डाइग्नोष्टिक सेन्टर र आयाम साकोस विच भएको एक सम्झौता अनुरुप पोलिक्लिनिको नि:शुल्क स्वास्थ्य सेवा तथा साकोसको ब्यवस्थापनमा शिविर सम्पन्न भएको हो । कोशिदेखा क्षेत्रमा रहेका शेयर सदस्यहरु र अन्य गैह्र शेयर सदस्यहरुलाई समेत स्वास्थ्य सुविधा उपलब्ध गराइएको थियो । कोशिदेखा–१३ का वडा अध्यक्ष सुकुविर तामाङ्गको प्रमुख आतिथ्यता तथा सोही विद्यालयका प्रधानाध्यापक राजमान तामाङ्गको आतिथ्यताका विचमा पानसमा दिप प्रज्वलन गरेर शिविरको उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथिको रुपमा आमन्त्रीत वडा अध्यक्ष श्री सुकुविर तामाङ्गले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने शिलशिलमा आयाम साकोसको यस कदमलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले आगामी दिनहरुमा पनि सेवामुलक तथा सदस्य केन्द्रित कार्यक्रम ल्याउनुहुन अनुरोध समेत गर्नुभएको थियो । संस्थाको सदस्यता ग्रहण गर्दै अध्यक्ष तामाङ्गले आयाम साकोसलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । निशुल्क स्वास्थ्य शिविरमा १९३ जना विरामीहरुले स्वास्थ्य उपचार गराएका थिए । सामान्य चिकित्सा, फिजियो थेरापी तथा दन्त सेवा प्रदान गरिएको शिविरमा नि:शुल्क स्वास्थ्य सेवा सँगसँगै आवश्यकता अनुसारको नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

आयाम साकोस र पाँचखाल पोेलिक्लिनिक विच भएको सम्झौता अनुसार साकोसको सदस्यता लिनुभएका शेयर सदस्यहरुलाई सामान्य समयमा पनि औषधीमा १०%, दन्त सेवामा २०%, ल्याब परिक्षण सेवामा २०%, एक्स–रे तथा फिजियो थेरापी सेवामा २०% साथै होलबडी चेकअपमा २०% छुटको ब्यवस्था गरिएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुनिल चौलागाँई, उपाध्यक्ष श्याम थापा, लेखा समिति संयोजक बिनोद बजगाई लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।